आज नेपाल र बंगलादेश भिड्ने, ९ गोलले जितेमा नेपाल फाईनल पुग्ने

खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुने

फाईल तस्विर !!

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ।नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।

शीर्ष स्थानमा रहेको अपराजीत बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन।

बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ‌‌।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ।भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।

बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ। यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।

यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । ५ राष्ट्र सहभागी च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।