माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली

काठमान्डौ,साउन,११-
सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो।

माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको हेडक्वार्टर सदस्य मणि थापाले जानकारी दिए।

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले उर्जा, आशा खनालले महिला तथा बालबालिका, शिव मण्डलले आपूर्ति, सन्तकुमार चौधरी पशुपंक्षी विकास र टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय सम्हाल्नेछन्। प्रधानमन्त्री देउवाले बुधबार नै मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन्।