१९ वर्ष पछि नेपालको जेलदेखी कुख्यात हत्यारा चार्ल्स शोभराजलाई थुनामुक्त गरिदैं

आजै नेपाल देखि फ्रान्स पठाउने तयारी

काठमाडौं,पुस,७-नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बिहीबार थुनामुक्त गरिने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई बिहीबार थुनामुक्त गर्न लागिएको हो।

कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने केन्द्रीय कारागार स्रोतले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतमा पनि शोभराजको अर्को मुद्दा रहेकाले केन्द्रीय कारागारबाट उनलाई भक्तपुर लगिने र त्यहाँ बाँकी प्रक्रिया पूरा गरेर सिधै विमानस्थल लगेर फ्रान्स पठाउने तयारी भईरहेको बुझिएको छ।

अन्तर्राष्ट्रिय रुपमै कुख्यात हत्याराको परिचय बनाएका शोभराज सन् २००३ मा पक्राउ परेका हुन।उनी १९ वर्ष भन्दा लामो समयदेखि नेपालको जेलमा रहेका छन्।सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए बुधबारबाट कैद मुक्त गर्न आदेश दिएको थियो ।

साथै शोभराजलाई १५ दिनभित्र उनको आफ्नै देश फ्रान्स फर्काउन पनि आदेश गरिएको छ।सर्वोच्चको आदेशमा १९ वर्ष कैद सजाय भोगिसकेका ७८ वर्षको वृद्धले कानूनले दिएको सुविधा पाउनुपर्ने उल्लेख गरिएको छ।

उनी मुटु रोगी समेत भएको र ७५ प्रतिशत कैद सजाय भोगिसकेकाले थुनामुक्त गर्न भनिएको हो।शोभराजले भने थुनामुक्त भएपछि नेपालकै होटलमा बसेर मुटुको उपचार गर्नका लागि केन्द्रीय कारागारलाई पत्र लेखेका छन्।तर, उनलाई बिहीबार विमानस्थल लगेर फ्रान्स पठाइने छ ।