दाङमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन पुस १५ गते हुने

काठमाडौं,पुस,९-पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ।

सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन्।दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी समेत अगाडि बढाएको छ ।

प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यहि मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो ।

२०७७ असोज २० गते प्रदेश सभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यहि मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ।

अन्य मन्त्रालयहरू अब छिट्टै नै सार्ने तयारी थालिएको छ।यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले जानकारी दिनुभयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने करिब टुंगो लागिसकेको बताउनुभयो।

मुख्यमन्त्री केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेश प्रदेशका लालबाबु राउत, बागमती प्रदेशका राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने जनाइएको छ ।