साग फुटबल : आज नेपालको पुरुष र महिला दुवै टोलीले खेल्ने

काठमाण्डौं,मंसिर,१७-

१३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आज नेपालको पुरुष तथा महिला फुटबल टोलीले आ–आफ्नो पहिलो खेल खेल्दैछन् ।

पुरुष टोलीले खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आज दिनको १ बजे भुटानको सामना गर्दैछ । स्मरण रहोस, सोमबारदेखि शुरु पुरुष फुटबलतर्फ भुटानले सनसनी मच्याउँदै पदकको दावेदार बंगलादेशलाई १–० ले हराएको थियो ।

यद्यपि, दुर्भाग्यपुर्ण रुपमा पहिलो खेल खेलेको २४ घण्टा नपुग्दै भुटानले आज नेपालको सामना गर्दैछ।प्रतियोगिताको खेलतालिकालाई लिएर केही देशका फुटबल प्रशिक्षकहरुले असन्तुष्टी पनि जनाएका थिए । त्यसपछि सोमबार मात्र केही परिवर्तन गरिएको खेलतालिका सार्वजनक गरिएको थियो ।

यसैबिच : महिला फुटबलतर्फ नेपालले आज पोखरा रंगशालामा बिहान १० बजे श्रीलंकासँग खेल्दैछ । महिला फुटबलको यो पहिलो खेल पनि हो । जसमा सार्क राष्ट्रका भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् ।

गत संस्करणको उपविजेता भारत र पाकिस्तानले सहभागी नहुने भएपछि पुरुष फुटबलमा पाँच राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको हो ।