नेपालमा थप १५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज

भदौ १ देखी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु गराउने सरकारको निर्णय

काठमाडौं,साउन,६-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।निको हुनेको संख्या ६९.३४ प्रतिशत हो ।नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर २१ हजार ७ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ्ग र मुस्ताङ्ग गरी सात जिल्ला संक्रमणमुक्त भएका छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले भदौ १ गतेदेखि लकडाउनका कारण बन्द भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु गराउने सरकारको निर्णय भएको जानकारी दिँदै यसले कोरोना भाइरस नियन्त्रणमा आएको नठान्न आग्रह गरेको छ ।

अत्यावश्यक नपरेसम्म यात्रा नगर्न आग्रह गर्दै प्रवक्ता गौतमले स्वास्थ्य सम्बन्धी सम्पूर्ण नियमहरु पालना गर्न र गराउन एयरलाइन्सहरुलाई आग्रह गर्नुभएको छ ।