महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

बाँके, फागुन १३ – महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा(आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्वले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ ।व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।शिवको पूजाआर्चनाका लागि बाँकेको बागेश्वरी मन्दिरसहित देशैभरीका शिवालायहरुमा आज श्रद्धालुहरुको एकदमै घुँईचो लागेको छ ।

यस्तै शंकरको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।नेपालगंजको बागेश्वरीमा पनि उत्तकै भीडभाड हलागेको छ ।बाँके,बर्दिया,सुर्खेत,दाङ दैलेखलगायत आसपासका जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको दर्शनका लागि भक्तजनको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । बागेश्वरी लगायत बाँकेका प्रमुख शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घुँईचो लाग्ने गरेको विगतका मेलाहरुले पनि देखाएका छन् ।