एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा सहभागी हुने

फाईल तस्विर !!

काठमाण्डौं,साउन,१-नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा भोलि सहभागी हुने भएको छ। एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीपकुमार साहले बताउनु भएको छ।

उहाँका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ। राज्यमन्त्रीमा रुवी कर्णको नाम टुंगो लागेको उहाँले बताउनुभयो ।यद्यपी कुन मन्त्रालय लिएर सरकामा जाने खुलेको छैन। 

‘एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने टुंगो लागेको छ। भोलि ३ बजे शपथको कार्यक्रम छ’ सचेतक साहले “भन्नुभयो यसअघि दुई मन्त्रालय लिएर मात्र सरकारमा सहभागी हुने माओवादी केन्द्रले अडान राखेको थियो। 

स्रोतका अनुसार एउटै मन्त्रालय मात्र लिने भएकाले आर्थिक मामिला तथा योजना मन्त्रालय दिने सम्भावना प्रवल छ। 

केन्द्रबाट नै पार्टी प्रदेश सरकारमा सहभागी हुन निर्देश आएको हो। सोही अनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले दलका नेता साहलाई मन्त्री र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक साहले बताउनुभयो ।

जसपा उपेन्द्र यादव पक्षको नेतृत्वको सरकार रहेको प्रदेश २ मा यसअघि जेठ २६ गते तीन मन्त्रालय दिएर कांग्रेसलाई सरकारमा सहभागी गराएको थियो। 

जसपा महन्त ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र दुई राज्यमन्त्रीलाई बर्खास्त गर्नु भएको थियो। सोही बेला कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन राउत सरकारले प्रयास गर्दा कांग्रेस मात्र सहभागी भएको थियो।