प्रधानमन्त्री देउवाको निर्देशनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता

काठमाडौं, कात्तिक १६-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो ।

नेपाल आयल निगम

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले बुधबार रातिबाट बढाइएको मूल्यवृद्धि फिर्ता लिएर साविककै मूल्यमा इन्धन बिक्री वितरण हुने जानकारी दिनुभयो ।

निगमको बुधबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।