शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयनपत्र दर्ता हुँदैः निर्वाचान अायाेग

काठमाण्डाैं,कार्तिक,१६-

मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ ।

उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको निर्वाचन आयोगद्रारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडांै, ललितपुर र भक्तपुर छन् ।

त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदातालाई मतदानको अधिकार रहेको छ । नेपालवाणीबाट