एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा हुने

काठमाडौं,असोज,२७-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ । भट्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) उपाध्यक्ष र गुरूङ आईसीसी सदस्य हुन् ।

गुरूङले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उठ्ने घोषणा गरेकी हुन् । भट्टले करिब एक महिनाअघि नै अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । दुईबीच अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा भएपछि एनआरएनहरूबीच चुनावी सरगर्मी सुरू भएको छ ।

दुवै पक्षले आ-आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र पार्नुका साथै राजनैतिक दलको समर्थन जुटाउनसमेत सक्रिय भएका छन् । आजको कान्तिपुरमा खबर छ ।