उम्मेदवार टुङ्गो लगाउँदै काँग्रेस

काठमाडौं,असोज,२७-

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको अन्तिम नामावली टुङ्गो लगाउन काँग्रेस संसदीय समितिले गृहकार्य थालेको छ ।

समानुपातिक उम्मेदवारीको तीन दिन अघिसम्म पनि पार्टीका जिल्ला निकायबाट अझै उम्मेदवारी सिफारिस आउने क्रम जारी नै रहेको छ । प्राप्त जानकारीअनुसार अझै चारवटा जिल्लाबाट सिफारिस आइपुगेको छैन ।

७७ जिल्लामध्ये बिहीबारसम्ममा ७३ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आए पनि धनुषा, सप्तरी, महोत्तरी र मुस्ताङबाट सिफारिस आउन बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

पार्टीको हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले शुक्रबारसम्म उम्मेदवारको नामावली टुङ्गो लगाउने निर्णय गरिसकेको छ ।

निर्वाचनका लागि पार्टीका अधिकांश शीर्ष नेताको नाम सिफारिस भएर आएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नाम डडेलधुरा १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम तनहुँ १ र २ बाट सिफारिस भएको छ । आजको गोरखापत्रमा खबर छ ।