महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।

महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ ।

कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकामा भने आज विहानै राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइयो ।

महानवमीमा महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ ।

यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका कन्याको पनि पूजा गरिन्छ ।

महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ ।