चारदिने सद्भावना भ्रमणका लागी बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं,कार्तीक,२६-

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नु भएको थियो । भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भोलि अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी तथा उहाँको नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा भोलि राजकीय भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपति हमिदसंग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने बताइएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न दलका नेताहरूले पनि भेट गर्ने बताइएको छ ।

नेपाल बसाइका क्रममा बंगलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरिको पनि भ्रमण गर्ने कार्यक्रम छ ।