चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि

काठमाण्डौं,असोज,२८-

सी जिनफिङ

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ।

सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ।

यो चिनियाँले गरेको अनुभूति हो भने विश्वसमुदायले पनि कम्युनिष्ट पार्टी र सीको नेतृत्वले देखाएको चमत्कारको सिंहावलोकन गरिरहेको छ।

महाधिवेशनका दौरान पाँच वर्षे कार्यप्रगतिको समीक्षा चल्दै गर्दा कुनै नेतृत्वले चाहेमा परिवर्तनको दिशा बदल्नसक्छ भन्ने सन्देश प्रवाह गरेको छ। विश्वसमुदायले सी नेतृत्वले ५ वर्षमा गरेको ५ मुख्य प्रगतिको समीक्षा गरेको छ।

१. गरिबी निवारण
अक्टोबर १२ तारिख अमेरिकाको वाशिंटनमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक वार्षिक शरद सम्मेलनका दौरान विश्व बैंकका प्रमुख किम जिम–योङले भनेः अरु देशले चीनको गरिबी उन्मूलन अनुभवबाट सिक्न सक्छन्। आर्थिक सुधारमार्फत् दश करोड भन्दा बढी चिनियाँ गरिबीमुक्त हुँदा विश्वको चरम गरिबी उन्मूलनमा चीनको योगदान धेरै ठूलो भएको उनले औंल्याए।

यसबाट एक विकासोन्मुख मुलुक चीनले विश्वका प्रतिष्पर्धी मुलुकहरूलाई चकित पार्दै कसरी गरिबी निवारण गर्दैछ भन्ने कुरा निकै चासोको रूपमा लिइएको छ। राष्ट्रपति सीको कार्यकालको लक्षले गरिबी निवारणको पूर्वाधार सबल पारेको छ भने सन् २०२० सम्ममा चीनबाट गरिबी निमिट्यान्न पार्ने अभियान अनुकरणीय छ।

गरिबी विरूद्धको अन्तिम युद्ध लड्न चीनले सबै खाले प्रयासहरू जारी राखेको छ। १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा लिएको लक्ष थियो, गरिबीबाट उम्किएर खुशीयालीको लक्षमा पुग्ने। कठिन प्रयास र नवीन प्रणालीले गरिबी जित्न सकिन्छ भन्ने उदाहरण यो पाँच वर्षमा देखिएको छ।

२. पर्यावरण संरक्षण र हरित क्रान्ति
अर्थतन्त्रमा चोट पुगेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पेरिस जलवायु सम्झौताबाट हात झिकिरहेका बेला चीनले भने अर्बौं डलर स्वच्छ ऊर्जामा लगाएको छ भने लाखौं रोजगारी सिर्जना गरेको छ। ठूला उद्योगको समर्थन र उत्पादनको विश्व बजारीकरणको महत्वाकांक्षाका साथ चीनले विशाल सौर्य ऊर्जा तथा वायु फार्म बनाएको छ।

चीनमा मात्रै २५ लाख मानिसहरू सोलार पावरमा कार्यरत छन्, जब कि अमेरिकामा २ लाख ६० हजार मात्रै यसमा संलग्न छन्। अन्तर्राष्ट्रिय विश्वासप्राप्त ऊर्जा एजेन्सीले हालै जारी गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१६ मा सारा पृथ्वीमा सौर्य ऊर्जा र थप फोटोभोल्टिक उत्पादन दर पचास प्रतिशत पुगेकोमा चीनले आधाभन्दा बढी योगदान गरेको छ। आगामी ५ वर्ष चीन यथावत् रुपमा सारा पृथ्वीको पुनःनवीकरणीय ऊर्जामा निर्विवाद अग्रणी बन्नेछ।

ऊर्जा एजेन्सीले सन् २०१७ पुनःनवीकरणीय ऊर्जा बजार प्रतिवेदनमा उल्लेख गरेअनुसार सन् २०३० सहश्राब्दी विकास लक्ष्य अनुरूप चीनले सबैभन्दा ठूलो योगदान ऊर्जामा गर्नेछ। पुनःनवीकरणीय ऊर्जाको विकासका लागि सोलार, वायु, हाइड्रो र न्युक्लियर गरी २०२० सम्ममा २.५ ट्रिलियन युआन लगानी गर्ने चीनले घोषणा गरिसकेको छ।

चीनमा गम्भीर प्रदूषण भएको जगजाहेर नै छ। तर त्यसो भन्दैमा चीनले प्रयास नगरेको भन्न मिल्दैन। चीनले वन शहरको निर्माणलाई राष्ट्रिय विकास रणनीतिमा राखेको छ। सन् २०२० सम्ममा चीनले दुई सय राष्ट्रिय वन शहर र एक हजार वन नमूना गाउँको निर्माण गरी शहरको पर्यावरण र जनता बसोबास क्षेत्रको वातावरणमा सुधार गर्नेछ।

चीनको राष्ट्रिय वन ब्यूरोका प्रमुख चाङ च्येन लुङले जानकारी दिएअनुसार, भविष्यमा वन शहरको निर्माण गर्न एकातिर वृक्षारोपणलाई प्राथमिकतामा राखिएको छ भने अर्कोतिर वनको गुणस्तरलाई उकास्न दीर्घकालीन कार्यमा राखिएको छ। प्रदूषण विरूद्धको सचेतना प्रणाली चीनका हरेक क्षेत्रमा जारी छ भने गम्भीर प्रदूषणका क्षेत्रमा ‘अलर्ट जोन’ घोषणा गरेर वातावरण र प्राकृतिक श्रोतको संरक्षणमा ध्यान दिइएको छ।

चीनको प्रदूषण विरोधी युद्धले तीव्रता लिएको छ। सोही बमोजिम प्रदूषक उद्योगहरू प्रतिस्थापन, बजार, वस्तु लगायत स्थानान्तरणले सुधार ल्याउने अपेक्षा छ।

३. पुनःसंरचना
खुलापन र वैदेशिक लगानीलाई भित्र्याउन थालेको चीनले निरन्तर अनेकानेक क्षेत्रमा गहन सुधारको अवधारणा पछ्याइरहेको छ। यसै क्रममा राज्य नियन्त्रित ठूला व्यवसायहरू रूपान्तरणको एउटा प्रारूप बमोजिम उत्तरदायी कम्पनी वा ज्वाइन्ट–स्टक फर्ममा बदलिएका छन्।

राज्य नियन्त्रित व्यवसायको पुनःसंरचना (एसओई) सरकारी प्रशासन दैनिक व्यवस्थापनबाट क्रमशः अलगिँदै गएको छ। पार्टीले मजदूरको कानुनी अधिकारको रक्षा गर्ने र कर्पोरेट सुधार सुनिश्चित गर्दै जानेछ।

चीनले नीजि तथा विदेशी पूँजीलाइ प्रोत्साहित गरिरहेको छ। विश्व अर्थतन्त्रमा कुनै न कुनै संकट भैरहँदा चीनको केन्द्रशासित व्यवसायले पाँच वर्षमा स्थिर र बलियो उत्पादकत्वलाई बल दिइरहेको अनुभव छ। अधिकारिक तथ्यांकले भन्छः सन् २०१६ मा चीनको सारा अर्थतन्त्रको एसओईमा ५०.५ ट्रिलियन युआन पुगेको थियो जुन २०११ को तुलनामा ८० प्रतिशतले बढी हो।

सन् २०१२ को १८ औं महाधिवेशनपछि अविच्छिन्न रूपमा चीनले थालेको पुनःसुधारले जिवन्तता र दक्षता हासिल गरेको अनेकन् नमूनाहरू सामु आएका छन्। ५ वर्षे पुनःसुधारको पुनरावलोन गर्दा थप प्रणालीवद्ध, वृहत्तर र सहकार्यमुलक बनाएको देखिन्छ।

केन्द्रिय सरकारले दक्षता र प्रतिष्पर्धात्मक स्तर उकास्नका लागि एसओईको पुनःसंरचनालाई सक्रियतापूर्वक अघि बढाएको छ। दुई बुलेट ट्रेन निर्माता र दुई ठूला स्टील उत्पादक कम्पनी मर्ज गरिएको छ। औद्योगिक विकासको आवश्यकता पूर्तिका लागि दुई नयाँ उद्योग एरो–इन्जिन कर्पोरेसन र चाइना टावर स्थापना गरिएको छ।

प्रविधि र बजार विकास केन्द्रिय एसओई सुधार्ने प्रमुख शक्ति हो। मर्जर र पुनःगठनले एसओईलाई विश्वव्यापी प्रतिष्पर्धी शक्तिमा उचालेको छ। यसै वर्ष पनि ४८ भन्दा बढी केन्द्र स्वामित्वका एसओई फर्च्युन ग्लोबल ५०० को सूचीमा परेका छन्। भव्य औद्योगिक संरचनाका अलावा पुनःसंरचनाले नव–आविष्कृत प्रविधिलाई प्रवर्द्धन गरेको छ भने व्यवस्थापन र उत्पादन लागत घटाएको छ।

४. प्रविधि तथा पूर्वाधार विकास
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्सको प्रारूपमा युरोपेली र एशियाली मुलुकहरूको आर्थिक, रसद परिवहन तथा राजनीतिक परिवर्तनमा समेत छलाङ मार्न थालेको छ। नयाँ रेशमी मार्ग लगायतका अनेकन् प्रयासहरूले यस क्षेत्रको प्राविधिक क्षेत्रमा बदलिँदो नमूनाको पुनःजागृति भएको छ।

ट्रान्स–युरेशियन ट्रान्सपोर्ट सञ्जाल एकीकृत तथा सुव्यवस्थित हुने दिशामा अग्रसर भएको छ। उर्जा शक्ति बढेको छ। गहन सुधार गत्योन्मुख भैरहेका बेला चीनले पूर्वाधार विकासमा ५ वर्षमा देखिने खालको प्रगति गरेको छ। घरेलु उत्पादन पनि अव बेजोड हुँदै गएको सावित गर्दै चीनको नयाँ पुस्ताको फूसिङ हाइस्पीड रेल बेइजिङ(शाङहाई कुद्न थालिसकेको छ।

फूसिङ बुलेटले प्रतिघण्टा ४०० किलोमिटर दूरी नाप्न सक्छ तर हाल ३५० किलोमिटर प्रतिघण्टा कुद्न थालेको छ। जापानको शिङ्कानसेन ३०० किलोमिटर कुद्छ भने फ्रान्सको ट्रेन ए गाण्डे भिटेसे ३२० किलोमिट प्रतिघण्टा कुद्ने भएकाले विश्वको तीव्र गतिको रेलको इतिहास कोरेको छ।

पाँच वर्षको सी कार्यकालमा केही प्राविधिक नवाविष्कारले संसारमा नयाँ छाप छाडेका छन् भने केही पूर्ववर्ती वैज्ञानिक उपलब्धीले पूर्णता पाएका छन्। विश्वको पहिलो क्वान्टम स्याटेलाइट, शन्चौ–११ मानवसहित अन्तरिक्षण उडान, विश्वको सवैभन्दा ठूलो टेलिस्कोप जसलाई पाँच हजार मिटर एपरचर गोलाकार टेलिस्कोप पनि भनिन्छ, अर्थात् थ्यानयान, सी–९१९ सर्वाधिक विशाल यात्रुवाहक जेटको प्रथम उडान, चीनको मेडिसिन तथा भौतिकशास्त्रमा पहिलो पटक चिनियाँ थू यौयौलाई नोबेल पुरस्कार प्राप्त, विगत ६ वर्षदेखि विश्वलाई पछि पार्दै गएको चिनियाँ सुपर कम्प्युटर, चीनको आफ्नै सिर्जनामा बनेको पैतौ स्याटलाइन नेभिगेसन सिस्टम इत्यादि प्रविधिका क्षेत्रमा भएका उपलब्धी हुन्।

५. भ्रष्टाचार विरोधी अभियान
भ्रष्टाचार विरोधी अभियानमा चीनलाई प्राप्त उपलब्धीले विश्व समाजलाई पनि आश्वस्त पार्दै गएको छ। कम्युनिष्ट देशमा भित्री कुरा गोप्य रहने विश्व भ्रम तोडिँदै गएको छ। चीनले खुलापन र पारदर्शितामा जोड दिँदै भ्रष्टाचारका कुराहरू निर्धक्क विश्वसामु प्रस्तुत गर्न थालेको छ।

बेला बेलामा भ्रष्टाचार निवारणमा भएका उपलब्धीहरू संचारमाध्यममा अद्यावधिक गरिएको हुन्छ। भर्खरै पाँच वर्षभित्र भ्रष्टाचारमा मुछिएका अधिकारीहरूमाथि कार्वाही, छानबीन वा नसिहत दिइएकाको संख्या सार्वजनिक भएको थियो। साना वा ठूला, जो पनि अनुशासनहीनताको दायरामा समेटिएबाट चीनको निष्पक्षताको अंक पनि बढेको छ।

भ्रष्टाचार कुनै पनि मुलुकका लागि धमिरा सावित भएको छ, यसले मुलुक खोक्रो पार्नुका साथै गरिबीलाई प्रश्रय दिन्छ। तसर्थ भ्रष्टाचारका छिद्र छिद्र नपुरेसम्म सुशासन कायम रहन नसक्नेमा चीन पनि दृढ देखिन्छ। त्यसैले यस अभियानले ठूला ठूला सरकारी अधिकारीदेखि तल्लो तहका कर्मचारी समेतलाई नछोडेको नमुनाहरू देखिन्छन्। आफ्नै पार्टी सदस्य वा सहकर्मीका लागि समेत ८ बुँदे मितव्ययी नीति दागेर चिनियाँ कम्युनिष्ट पार्टीले यसबीचमा सुशासनको एउटा जग बसालेको देखिन्छ।

प्रान्त सरकार, पार्टी केन्द्र, सरकारी निकाय, केन्द्र प्रशासित राज्य नियन्त्रित उद्योग तथा केन्द्रिय अर्थ विभागहरूमा महिनैपिच्छे प्रतिवेदन पेश गर्ने पद्धति बसालेपछि यो अभियानले अझै गति लिनेछ।

त्यतिमात्रै नभएर मातृभूमिमा बदमासी गरेर विदेशमा लुक्ने भ्रष्टहरूले पनि सुख पाउने छैनन्। त्यसका लागि इन्टरपोल लगायत अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र हातेमालोबाट चीनको भ्रष्टाचार विरोधी अभियान पनि मजबुत बन्दै गएको प्रत्याभूति हुन्छ। समग्रमा सी नेतृत्वले चीन र चिनियाँका लागि अर्को नयाँ युगको अभ्युदय गर्न लागेका संकेतहरू देखिँदै गएका छन्।

साभार नेपाल खबरमा लक्ष्मी लम्सालले खबर लेखेका छन् ।