नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने

काठमाण्डौं,असोज,२८-

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ आज साँझ ७ बजे खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँगको परामर्शपछि नवनियुक्त मन्त्रीको सपथको समय तोकेकी हुन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर सरकार विस्तार गरेपछि राष्ट्रपति भण्डारीले सपथ खुवाउने विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श लिएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार साँझ राप्रपाका चार जनालाई मन्त्री र चार जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुको नाम शुक्रबारै राष्ट्रपति कार्यालय पठाइएको थियो।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीमा नियुक्त गरेका थिए भने कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उनीहरु सबैलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिने छ।