रौतहटको प्रहरीचौकीमा बम प्रहार, प्रहरी घाइते, खशीको मृत्यु

रौतहट,कात्तिक,२६-

रौतहटको ईशनाथ नगरपालिकामा रहेको मठिया प्रहरीचौकीमा मंगलबार दिउँसो सुतली बम प्रहार गरिएको छ । बीआर५ एच ८६५९ नम्बरको मोटरसाइकलमा आएका दुईजना भारतीय नागरिकले प्रहरीचौकीमा सुतली बम प्रहार गरेको जनाइएको छ ।

यस्तै : बम प्रहारबाट ‘सेन्ट्री’ बसेका प्रहरीजवान रन्जीतप्रसाद यादव सामान्य घाइते भएका छन् । उनको ढाडमा बमको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैगरी : सो प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए । अरु पाँचजना प्रहरी सकुशल छन् ।सामान्य घाइते यादवको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

बम प्रहारबाट सो स्थानमा रहेको एउटा खसी मरेको जनाइएको छ ।बम प्रहार गरेर भाग्दै गरेको अवस्थामा नेपाल–भारतको दशगजा क्षेत्रबाट भारतको बिहार, ढाका निवासी चन्दनकुमार रामलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

बम प्रहार गर्ने अर्का एकजना भने फरार छन् । बम प्रहार गर्नेले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।