मंगोलियामाथि नेपालको २ सय ७३ रनको शानदार जित

काठमाडौं,असोज,१०-नेपालले एसियन गेम्समा मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ।

हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो। 

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ। 

मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन्। 

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले।उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन्।रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे।दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् ।

कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए। 

नेपाल प्रतियोगिताको समूह एमा रहेको छ।नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन्।समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।