एमसिसी सम्झौता संकटमा- नेकपाले बनायो अध्ययन कार्यदल

काठमाडौं,माघ,२०-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। खनाल र रावल दुवैजना एमसिसीको विपक्षमा छन्। पार्टीले कार्यदलको संयोजक खनाललाई बनाएपछि नेपालमा एमसिसी संकटमा परेको नेकपा नेताहरुले बताएका छन्। ‘वरिष्ठ नेता खनाल र रावल दुवै एमसिसीविरोधी हुन्। उनीहरुले दिने सुझाव सरकारको पक्षमा हुँदैन। त्यसकारण एमसिसी सम्झौता संकटमा पर्ने सम्भावना छ’, एक नेताले बैठकपछि नागरिकसँग भने ।

वरिष्ठ नेता खनालले एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका थिए। केन्द्रीय समिति बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबाहेक सचिवालयका कुनै पनि नेताहरुले बोल्ने अवसर नपाए पनि आइतबार बिहान बसेको सचिवालय बैठकमा सबैजसो सचिवालय सदस्यले आफ्नो धारणा राखेका थिए। उनीहरुले केन्द्रीय समितिमा उठेका विषयमा गम्भीरतापूर्वक ध्यान दिन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। सचिवालय बैठकमा माधवकुमार नेपालले केन्द्रीय समितिमा उठेका विषयलाई गम्भीरतापूर्वक ध्यान नदिने हो भने पार्टी कार्यकर्तामा चरम निराशा आउने बताउँदै एमसिसीबारे कार्यदल बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए। उनैले कार्यदलको संयोजक खनाललाई बनाउन प्रस्ताव गरेका हुन्। त्यसमा सबैको सहमति भएपछि रावल र ज्ञवालीलाई सदस्य चयन गरी सोही प्रस्ताव केन्द्रीय समिति बैठकमा राखिएको थियो। बैठकले सो प्रस्ताव सर्वसम्मत पास गरेको थियो।

तीनसदस्यीय कार्यदलमा संयोजक रहेका झलनाथ खनाल र सदस्य भीम रावल एमसिसीको विपक्षमा बोल्दै आएका छन्। यही कारण एमसिसी सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ।

बैठकमा उठेका प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष दाहालले नेपालको भूराजनीतिलाई हेरेर एमसिसीबारे निर्णय गर्नुपर्ने, अमेरिकासँग वार्ता गरी सच्याउनुपर्ने बुँदा सच्याई राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने धारणा राखिरहेका बेला केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त्यसको प्रतिवाद गरेका थिए। बैठक स्रोतका अनुसार सचिवालय बैठकमा एमसिसी पास गराउने सहमति गरेर कार्यदल बनाउने विषयलाई यहाँ अनुमोदन गराउन खोज्नुभएको हो भन्ने प्रश्न नेता खतिवडाले उठाएका थिए। जबाफमा दाहालले ‘त्यसो होइन, यस विषयमा थप स्पष्ट हुन कार्यदल बनाइएको र त्यसको सुझावका आधारमा पार्टीले निर्णय गर्ने, अहिले कुनै निर्णय भएको छैन’ भनेका थिए।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसीबारे पार्टी र सरकारलाई सुझाव दिन वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको जानकारी दिए। उनका अनुसार कार्यदलले १० दिनभित्र आफ्नो सुझाव दिनेछ।

प्रधानमन्त्री ओलीले बुधबार बैठकको उद्घाटन सत्रमा दिएको अभिव्यक्तिमा चित्त नबुझाएक केन्द्रीय सदस्यले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टको आधारमा मात्रै एमसिसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिएका थिए। केन्द्रीय सदस्यहरुले एमसिसी अमेरिकाको सैन्य रणनीति भएनभएकोमा विवाद रहेको तथा राष्ट्र नै विभाजित भएको अवस्थामा यसलार्य स्वीकार गर्न नहुने बताएका थिए।

एमसिसीबारे छिटै निर्णय : ओली
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक समापन गर्दै एमसिसीबारे सरकारले चाँडै टुंगो लगाउने बताएका थिए। केन्द्रीय सदस्यहरुले उठाएको प्रश्न जायज रहेको भन्दै उनले थपे, ‘एमसिसीबारे चाँडै नै सरकार एउटा टुंगोमा पुग्छ। यसमा सबैको चिन्ता र चासो छ। चासो कतिपय सन्दर्भमा जायज छन्। हामीले यो विषयमा गम्भीर छलफल गरेका छौं र चाँडै नै निर्णयमा पुग्नेछौं।’ राष्टिय एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतन्त्रको सबालमा पार्टी र सरकार रहेको उनको भनाइ थियो। सीमाका विषयमा पार्टी स्पष्ट रहेको समेत उनले बताए। उनले पार्टी एकता भुलचुकमा नभई देश र सम्पूर्ण जनाताको हितलाई ध्यानमा राखेर गरिएको समेत दाबी गरे।

विसंगति र विचलन कमजोरी : दाहाल
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र विसंगति र विचलन बढेको स्वीकार गरेका थिए। उनले पार्टीका नेताहरुदेखि कार्यकर्तासम्म विसंगति र विचलन व्याप्त रहेको बताउँदै त्यसलाई सच्याउन नेतृत्व तहबाटै सुरु गर्ने दाबी गरे।‘गुटबन्दी शीर्ष तहमै रहेको कुरा उठेको छ जुन जायज हो। अब हामी त्यसलाई सच्याएर जानेछौं। माथिल्लो तहका नेताहरुबाटै त्यो कुरा सच्चिनेछ तपाईंहरु निश्चिन्त हुनुस्’, अध्यक्ष दाहालले भने। उनले पार्टी कमिटीहरुमा महिलाको उपस्थिति ३३ प्रतिशत पु-याउने र यसलाई विधानबमोजिम सबै कमिटीमा लागु गर्दै लैजाने समेत बताएका थिए। अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यहरुबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने बताएका थिए।

उपनिर्वाचनको समीक्षा
बैठकमा उपनिर्वाचनको विषयमा पनि समीक्षा गरिएको थियो। बैठकले निर्वाचन परिणामले पार्टी राष्ट्रिय राजनीतिको मुख्य, निर्णायक र लोकप्रिय शक्तिका रुपमा रहेको तथ्य पुनर्पुष्टि गरेको भए पनि भक्तपुर, धरान, भरतपुरलगायत विभिन्न स्थानमा प्राप्त अनपेक्षित परिणामबाट गम्भीर शिक्षा लिन आवश्यक रहेको ठहर गरेको थियो। बैठकले आमनिर्वाचनमा नेपाली जनताबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्निपरीक्षाका रुपमा लिएर जनभावनाअनुरुप विकास निर्माण, सुशासन, जनसेवा र समृद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढंगले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकारहरू, सबै स्थानीय तह र जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरेको छ।

नयाँ नक्सा जारी गर्न निर्देशन
बैठकले २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ। ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा पार्टी स्पष्ट भएको सो दलले जनाएको छ।

गौतम वैधानिक उपाध्यक्ष
नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाएको छ। यो निर्णय केन्द्रीय समिति बैठकले सर्वसम्मत गरेको हो। गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो। विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय समितिमा ल्याएर वैधानिक प्रक्रिया पूरा गरिएको हो।

प्रधानमन्त्री ओलीको रात्री भोज

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास वालुवाटारमा केन्द्रीय सदस्यहरुलाई रात्रीभोज दिएका थिए। उनले बैठकमै बालुवाटारको रात्रीभोजमा सहभागी हुन निम्ता गरेका थिए। बैठकपछि सबै केन्द्रीय सदस्य रात्रीभोजमा सहभागी भएका थिए। हार्दिकता साटासाट गर्न प्रधानमन्त्री ओलीले रात्रीभोज आयोजना गरेको स्रोतले बतायो।

राजनीतिक प्रतिवेदनबाट ‘चीन घेर्ने’ शब्दावली हट्यो
राजनीतिक प्रतिवेदनमा परेको ‘इन्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने शब्दावली अध्यक्ष दाहालले फिर्ता लिएका छन्। उक्त शब्दावलीप्रति विन्दा पाण्डे, गोकुल बास्कोटा, विष्णु रिमाल, आनन्द पोखरेल, सूर्य थापालगायतले असहमति जनाएका थिए।साभार: नागरीक न्यजबाट