खोटाङमा अलैंची उत्पादनमा बृद्धि ,भाउ नपाउँदा कृषक चिन्तित

सिर्जना बर्देवा/
ओखलढुंगा ,कात्तीक,२१-

खोटाङमा यस आर्थिक वर्ष २० प्रतिशतले अलैंची उत्पादनमा बृद्धि भएको छ । रोग किरा नलागेको र नयाँ बिरुवाले उत्पादन दिन सुरु गरेकाले आर्थिक वर्ष २०७४÷०७५ मा अलैंची उत्पादनमा बृद्धि भएको हो ।

आर्थिक वर्ष २०७३÷०७४ मा ४४० मेट्रिक टन (११ हजार मन) अलैंची उत्पादन भएकामा यस आर्थिक वर्ष ६३६.६ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय खोटाङका बागबाणी अधिकृत कौशलकुमार यादवले बताउनुभयो ।

जिल्लाका १ हजार ६०४ हेक्टरमा अलैंची खेती लगाइएकामा १ हजार ६१ हेक्टरमा लगाइएको अलैंचीले मात्र उत्पादन दिएको हो । पुरानो बोटमाभन्दा नयाँ बोटमा अलैंचीको दाना बढि लागेको किसानको भनाई छ । मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैंचीको उत्पादनमा बृद्धि भए पनि भाउ नभएकाले अधिकांश किसान उत्साहित छैनन् ।

कुनैबेला प्रतिमन १ लाखको हाराहारीमा किनबेच भएको अलैंचीको मूल्य अहिले घटेर प्रतिमन २२ हजारदेखि २६ हजारमा झरेको कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ५४० मेट्रिक टन, आर्थिक वर्ष २०७२÷०७३ मा ५६४ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । भाउ नपाउँदा तयारी अवस्थाका अलैंची हालसम्म किसानको भण्डारणमै थन्किएका छन् ।