नेपाललाई विश्वकपमा पुर्‍याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एकलाख दिने

काठमाडौं,फाल्गुन,२८-यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ ।

हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो ।

नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा,दिपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए ।

यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा,सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक बिक्रम विष्ट,फिजियो पुरन तिरुवा रहेका थिए ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो।चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको छ । यहाँ कमलबहादुर शाह मुख्यमन्त्री रहनुभएको छ ।

प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी दीपक बोहराले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी र टिम अफिसियललाई पुरस्कार दिने घोषणा गर्ने कार्य निकै सह्रानिय रहेको क्रिकेट संघका अध्यक्ष चन्दको भनाई छ ।

अन्य प्रदेशले पनि सुदूरपश्चिम सरकारको सिको गरेर खेल र खेलाडीप्रती सम्मान गर्न आग्रह गरिएको छ ।

पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो।नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा समेत गरेको छ ।यो खबर विनोद सिंह विष्टले आजको ईमेज खबरमा लेखेका छन् ।