नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी

नेपालका लागी अञ्जन विष्टले गरे गोल, समर्थकसंग अलमुताइरीले मागे माफी

फाईल तस्विर !!

काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।

भारतका तर्फबाट भने खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रुपमा क्लियर हुन नसक्दा गोलमा परिणत भएको थियो ।

सोही रिबाउन्ड बललाई भारतीय फुटबलर अनिरुद्ध थापाले गोललाइनबाटै गोल गर्न सफल भए । दोस्रो हाफको शुरुमा ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान छिरेका अनिरुधले नै गोल गरेका हुन् ।

कोरोना महामारीले खेल गतिविधि ठप्प् भएका बेला नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल भएको हो । नेपालले भारतमाथि ६ वर्षपछि गोल गरेको हो ।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।  

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। 

यसैबिच: प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी माग्नु भएको छ।भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक अलमुताइरीले माफी माग्नु भएको हो ।

अलमुताइरीले खेलबाट नेपालीलाई खुशी बनाउन नसकेको भन्दै माफी माग्नु भएको हो ।’क्षमा चाहन्छु ।  नेपाली जनतासँग । हामीले खुशी बनाउन सकेनौं । मलाई आशा छ । क्षमा  स्विकार्नु हुनेछ,’ उहाँले भन्नुभयो ।

यस्तै प्रशिक्षक अलमुताइरीले खेलमा अझै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।’हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । तर, खेलाडीप्रति मलाई गर्व छ,’ अलमुताइरीले भन्नुभयो ।