वामदेव गौतमले परित्याग गरे एमाले

काठमाडौं,भदौ १८-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ ।गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथलि पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो ।

गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।

ओलीमाथि गौतमले लगाएका आरोप के के छन्  ?

राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री भएपछि वाम गठबन्धन -एमाले र माओवादी केन्द्र) को घोषणा पत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईले गर्नु भएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन ।’

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विाधन र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।

कार्यशैली सुधार गर्न आफूलेे पटक-पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईँ सुधि्रनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ आफ्नो गलत नीति र विचार अनुसार नचल्दासमकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निस्कासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली अंगालेको गौतमको आरोप छ ।

गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’