आज देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

काठमाडौं,साउन,१-

निर्वाचन आयोगले आज देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको छ ।यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक नागरिकता जारी भएकै जिल्लामा गएर मतदाताको लागि फर्म भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।यसैबीच दलहरुले भने स्थानीयतहमै पुगेर मतदाता नामवली संकलन गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले मतदाता नामवली संकलनका लागि १ महिनाको अवधि कायम गर्नुपर्ने माग गरेका छन् ।आयोगले भने समय अभाव र जनशक्ति पर्याप्त नहुँदा घरदैलोमा पुगेर मतदाता नामवली संकलन गर्न नसकिएको जानकारी दिएको छ ।