काठमाडौं,साउन,१२-
प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै थिए ।
सवैको नजर ल्यापटप र हातका औलाहरु किबोर्डमा थिए ।यो दृश्य थियो, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले आयोजना गरेको सूचना प्रविधि तथा नेतृत्व विकास सम्बन्धी ५ दिने कार्याशालाको । कार्याशालाको अन्तिम दिन शुक्रवार उनीहरुको अनुहारमा तेज थियो । ७७ जिल्लाकै शिक्षकहरु जो शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भनेर कार्याशालामा सहभागी भएका थिए अन्तिम दिन उनीहरुको अनुहारमा एउटा बेग्लै किसिमको तेज थियो । आँखाहरु सन्तुष्ट देखिन्थे ।
श्री आधारभूत विद्यालय चम्पादेवि–४, सौरेनी ओखढुंगाकी शिक्षक सरस्वती कार्कीले पहिले कम्प्युटर, ल्यापटप देखि डराउने आफुलाई कार्यशालाले कम्प्युटर चलाउन मात्रै नभइ इन्टरनेटको माध्यमबाट शैक्षिक सामग्री खोजेर सिकाउने हिम्मत दिएको बताइन् ।पाँचदिने कार्यशालामा सहभागी शिक्षकहरुलाई नेकपाका केन्द्रीय सदस्य एवं तत्कालीन माओवादी केन्द्रका फ्याक्सन इञ्चार्ज पुष्पविक्रम मल्ल र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यशाला समापन कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कार्यशाला पछि शिक्षकहरुको प्रविधि र कुशल नेतृत्वको विकास हुने अपेक्षा व्यक्त गरे । विद्यार्थीहरुले हिजो नभइ आज सिक्नुपर्ने भन्दै महानिर्देशक पौडेलले अब शिक्षकहरुले हिजोका नभइ आज र अहिलेका कुरा खोजेर सिकाउनुपर्नेमा जोड दिए ।
शिक्षकहरु सूचना प्रविधि मैत्री नभइ धरै छैन भन्दै यसको शुरुवात शिक्षक संगठनले गरेपनि अब सरकारले अघि बढाउने प्रतिवद्धा व्यक्त गरे ।संगठनले देशभरका शिक्षकहरुलाई जम्मा गरेर सूचना प्रविधिको तालीम दिनु ऐतिहासिक र अनुकरणीय कदम भएको पौडेलको दावी थियो । अब एकीकृत अखिल नेपाल शिक्षक संगठनको यो अभियानलाई अन्य शिक्षक संगठनहरुले पनि सिको गर्नुपर्छ ।
पौडेलले भने–मुलुकलाई सूचना प्रविधिमैत्री शिक्षक र शिक्षण सिकाइ आवश्यक छ ।एउटा राजनीकि क्रान्तिमा योगदान दिएका शिक्षकहरुले अब यस तालीम पछि एउटा शैक्षिक क्रान्तिको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आफ्नो संगठन वृहतरुपमा शिक्षकहरुलाई सूचना प्रविधिमैत्री तालीम सञ्चालन गर्ने पहिलो संगठन भएको भन्दै तालिम लिने शिक्षकहरु पनि पहिलो प्रशिक्षार्थी भएका दावी गरे ।
सूचना प्रविधि बुझ्ने ठूलो कुरा नभइ बदल्ने कुरा महत्वपूर्ण कुरा भएको भन्दै अध्यक्ष अधिकारीले अब विद्यालयहरुमा पुगेर सिकेको सीप अन्य शिक्षकहरुलाई पनि बाड्दै शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्ने कुरामा जोड दिए ।यि ठूलो संख्याका सूचना प्रविधि तालीमप्राप्त शिक्षकहरुले नै नेपालको शिक्षालाई सूचना र प्राविधिको धारमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
यस तालीमले ट्रेडयुनियन आन्दोलनमा नयाँ युगको शुरुवात गरेको भन्दै अध्यक्ष अधिकारीले सिकेको सीप कक्षाकोठामा पुर्याउन शिक्षकहरुसँग आग्रह गरे ।एकीकृत अखिल नेपाल शिक्षक संगठनले साउन ७ गतेदेखि ११ गते सम्म कार्यशाला सञ्चालन गरेको थियो । कार्यशालामा ७७ जिल्लाकै दुईसय बढी प्रधानाध्यापक एवं शिक्षकहरुको सहभागीता रहेको थियो ।
कार्यशालाको पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।शिक्षकहरुलाई सूचना प्रविधि विज्ञहरुले सूचना प्रविधिमैत्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाका नेता एवं पूर्वमन्त्रीहरु जनाद्र्धन शर्मा प्रभाकर, अग्निप्रसाद सापकोटा, अभियन्ता इन्द्रराज भट्टराई, राजकुमार बराल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्ण काप्री लगायतले नेतृत्व विकास सम्बन्धी प्रस्तुति दिएका थिए ।


