विश्वकप छनोट: आज नेपालले यमनसँग खेल्दै

विश्वकप छनोटमा आज नेपालले यमनसँग खेल्दैकाठमाडौं,मंसिर,५-फिफा विश्वकप छनोट खेलमा नेपालले आज मंगलवार यमनसंग प्रतिस्पर्धा गर्दैछ।दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ।सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर गर्दै आफूलेनै सात बजे खेल राख्न आग्रह गरेको बताउनुभयो।

कार्यलय जाने समर्थक काम सकेर टिमलाई साथ दिन रंगशाला आउने उनको विश्वास छ।गल्फ राष्ट्र यमनलाई काठमाडौंको चिसोमा खेल्न गाह्रो हुने र त्यसको फाइदा नेपालले उठाउने एन्फाले बताएको थियो।तर प्रि-म्याच कन्फरेन्समा यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले यसअघिको खेल काठमाडौंभन्दा बढी उचाइमा खेलेको भन्दै सात बजे हुने खेलले केही फरक नपार्ने प्रतिक्रिया दिनुभयो।नेपाल र यमन दुवै पहिलो जितको खोजीमा छन्।

यसअघि भएको अवे खेलमा नेपालले यूएईसँग ४-० गोलको फराकिलो हार बेहोरेको थियो।नेपालले यूएईसँग चारै गोल पहिलो हाफमा खाएको थियो।बहराइनले यमनमाथि २-० गोलको जित हात पारेको थियो।

नेपाल र यमनबीच अहिलेसम्म चार भेट हुँदा नेपाल जितविहीन छ । सन् २०१७ मा भएको एएफसी छनोटमा गोलरहित बराबरी खेल्नु यमनविरुद्ध नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।नेपालका मिडफिल्डर लाकेन लिम्बुले यो खेल गुमाउने छन्।उनी अघिल्लो खेलमा चोटग्रस्त बनेका थिए।चोटकै कारण यूएईसंगको खेल गुमाएका अनुभवी डिफेन्डर अनन्त तामाङ भने मैदान फर्कने सम्भावना छ।समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्।अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्।