ओली-दाहालबीच संवादहीनताको अवस्था जारी

फाईल तस्विर !!

काठमाडौं,कात्तिक,१३-राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ ।

पार्टीभित्रको विवाद समाधान, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउन भन्दै दिनदिनै छलफल हुने गरेको भएपनि पछिल्लो समय अध्यक्षद्वयबीच औपचारिक संवाद नभएको एक साताभन्दा बढी भएको छ ।

नेकपा कर्णाली प्रदेशको विवाद सम्बन्धमा अध्यक्षद्वयले छुट्टा-छुट्टै निर्देशन दिएपछि सुरु भएको संवादहीनता बिहीबार (आज)सम्म पनि जारी छ ।

अध्यक्षद्वयबीचको संवादहीनताको अन्त्य गर्न दोस्रो तहका केही नेताहरुले सक्रियता देखाएपनि सार्थकता पाउन सकेको छैन ।

दुई अध्यक्षबीचको संवादहीनताको अवस्थाले नेकपाभित्र देखिएको विवाद झन् गहिरिँदै गएको छ ।

गएको भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपाभित्रको आन्तरिक विवाद समाधान भएको दाबी गरिएपनि राजदूत नियुक्ति र मन्त्रिमन्डल पुनर्गठनमा स्थायी कमिटी बैठकको मर्मलाई आत्मसात नगरेको भन्दै विवाद सुरु भएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कार्यशैली नसच्याएको भन्दै इतर पक्ष असन्तुष्ट छ । उनीहरुले ओलीले एकपछि अर्को गर्दै पार्टीका निर्णयहरु उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

मुख्यसचिव र तीन देशका राजदूत नियुक्तिसँगै सुरु भएको असन्तुष्टिको शृंखला मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेश विवाद, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीको भेट, पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका कार्यकर्ताबीच पर्सामा झडप हुँदा नेकपा पर्सा बिन्दबासिनी गाउँपालिकाका कमिटी सचिव उमेश चौरसियाको मृत्य घटनासम्म जारी छ ।

पछिल्लोपटक अध्यक्ष ओली र दाहालबीच कात्तिक ४ गते प्रत्यक्ष संवाद भएको थियो ।ईमेजबाट