आयकर तथा भ्याट असुलीमा कडाइ

फाईल : तस्विर !!

काठमाडौं,फाल्गुन,१४-राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संकलनमा कडाइका साथ जोड दिएका हुन् ।

यसैक्रममा कर कार्यालय कलंकीले बिहीवार मात्रै सार्वजनिक सूचना जारी गरेर ५६ जना व्यवसायी कम्पनीले भ्याट तथा आयकर नबुझाएको भन्दै कारोबार रोक्का गरी कानूनी प्रक्रियामार्फत असुल्ने चेतावनी दिएको छ । कर नतिर्नेको सूचीमा निर्माण कम्पनीदेखि वाइन उद्योगसम्मलाई राखिएको छ ।

मूल्य अभिवृद्धि, आयकर समयमै नबुझाउनेहरूलाई १५ दिनभित्र चुक्ता गर्न सार्वजनिक सूचनामा भनिएको छ । सो समयावधिभित्र बाँकी बक्यौता कर चुक्ता नगरे मूल्य अभिवृद्धि कर, आयकर ऐनअनुसार व्यावसायिक कारोबार, बैंक खाता, घरजग्गा रोक्का गरी कानूनी प्रक्रिया अघि बढाई असुल्ने कर कार्यालयको रणनीति छ ।  आन्तरिक राजस्व विभागका अनुसार गत महीनासम्म राजस्व लक्ष्यनजिक नै संकलन भएको छ ।

यस महीनामा पनि लक्ष्य भेट्ने गरी नै राजस्व संकलनको कामलाई अघि बढाइएको छ ।

विभागका अनुसार आयकर र भ्याट असुलीलाई पछिल्लो समय प्राथमिकतामा राखिएको छ । समयमै दाखिला नगर्नेमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ । ‘कर कार्यालयहरूलाई अधिकारभित्र रहेर बक्यौता असुल्ने अधिकार दिइएको छ, कर समयमै नतिर्नेमाथि कानूनी प्रक्रियाबाटै असुलिनेछ,’ उपमहानिर्देशक मुक्ति आचार्यले बताउनुभयो ।आर्थिक अभियान