बंगलादेशी बन्दरगाह उपयोगको बाटो खोज्दै महावाणिज्य दूतावास

फाईल तस्विर !!

वीरगञ्ज,फागुन,१४-समुद्रपार व्यापार सहजीकरणमा बंगलादेशी समुद्री बन्दरगाह उपयोगको सहज उपाय खोज्न थालिएको छ । यसका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सम्भाव्यता अध्ययन थालेको छ ।

बंगलादेशको मोंगला बन्दरगाह उपयोगका लागि पहल थालिएको महावाणिज्यदूतावासले बताएको छ । महावाणिज्य दूतावासको टोलीले बंगलादेशको दोस्रो ठूलो मोंगला बन्दरगाह उपयोगका लागि सम्भावित सहज रूट र दूरीबारे अध्ययन शुरू गरेको उपमहावाणिज्य दूत तर्कराज भट्टले जानकारी दिनुभयो ।

महावाणिज्य दूत ईश्वरराज पौडेलसहितको नेपाली अधिकारीहरूको टोलीले भारत–बंगलादेश सीमास्थित पेट्रापोल एकीकृत जाँच चौकी (आईसीपी) को स्थलगत अध्ययन गरेको छ । पेट्रापोल आईसीपी बंगलादेशको बेनापोलसित जोडिएको छ ।

भारतले पेट्रापोल आईसीपी उपयोगको स्वीकृति दिएमा बेनापोल हुँदै मोंगलासम्मको पहुँच सहज हुने भट्टले बताउनुभयो । यो आईसीपीबाट मोंगला बन्दरगाह १४५ किलोमीटर दूरीमा पर्छ । नेपाल–बंगलादेश व्यापार सन्धिअनुसार नेपालले मोंगला र चटगाउँ बन्दरगाह उपयोग गर्न सक्छ । पेट्रापोल आईसीपी भारत–बंगलादेश व्यापारको मुख्य नाका हो । भारतले यो आईसीपीबाट वर्षेनि १ लाख ४० हजार कन्टेनर मालसामान आयात गर्छ भने १ लाख २० हजार कन्टेनर निर्यात हुन्छ । नेपाल–बंगलादेश व्यापार सन्धिअनुसार नेपालले बंगलादेशको बेनापोल आईसीपी पनि उपयोग गर्न सक्ने उपमहावाणिज्य दूत भट्टले बताउनुभयो।

‘यो आईसीपीसँग जोडिएको भारततर्फको पेट्रापोल आईसीपी उपयोगका लागि भारतसितको व्यापार सन्धि संशोधन आवश्यक पर्छ । त्यसका लागि आगामी अन्तरसरकारी बैठकमा प्रस्ताव राख्नुपर्छ,’ भट्टले आर्थिक अभियानसित भने ।

मोंगला बन्दरगाह उपयोग गर्न भारतको पेट्रापोल आईसीपीको रूट उपयोगका लागि भारतीय पक्षलाई सहमत बनाउनुपर्ने भट्टले बताउनुभयो। आईसीपी उपयोगका लागि भारतसितको आगामी आईजीसी बैठकमा एजेन्डा लैजान वाणिज्य तथा आपूर्ति मन्त्रालयसित छलफल गरिने उहाँले बताउनुभयो।

महावाणिज्य दूतावासले स्थलगत अध्ययनका क्रममा आएका निष्कर्षमा छलफलको योजना बनाएको छ । बंगलादेशसित रेल र सडक दुवै मार्ग जोडिएको यो आईसीपी उपयोग गर्दा बंगलादेश र तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न सकिने महावाणिज्य दूतावासले बताएको छ । मोंगला बन्दरगाह उपयोगको बाटो खोल्न सके पूर्वी नाका विराटनगरबाट व्यापार सहज हुने भट्टको दाबी छ । विराटनगरबाट मोंगलापोर्ट ६७२ किलोमीटर दूरीमा छ । वीरगञ्जबाट यो बन्दरगाह ९१० किलोमीटर पर्छ ।

यो बन्दरगाह उपयोगको रूट तय गर्न सके बंगलादेशसितको द्विपक्षीय र तेस्रो मुलुकसँगको व्यापार सहज हुने विश्वास नेपाली अधिकारीहरूको छ । मोंगला बन्दरगाह समुद्रपार व्यापारमा भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाहका असहजता समाधानको विकल्प बन्न सक्ने अधिकारीहरूको भनाइ छ ।आर्थिक अभियान