नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, ५ जना निको भए

काठमाडौं,वैशाख,९-नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।उदयपुरमा मंगलबार थप ११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ८ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएपछि थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

यस्तै, काठमाडौंको टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल पठाइएको थियो । उनीहरुमध्ये ८ जनामा फेरि कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

यसअघि, कोरोना संक्रमण पुष्टि भएका १२ जना विराटनगरको कोरोना अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् छन् । पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४२ पुगेको छ ।अहिले सम्म ५ जनालाई निको भइसकेको छ ।