भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु

काठमाडौं,जेठ,६-भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। अहिलेसम्म भारतमा एक लाख तीन सय २८ जना कोरोना संक्रमित भएका वल्डओमिटरले जनाएको छ।
फाईल : तस्विर

सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए। संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २ सय ३३ जना उपचारपछि निको भएका छन्।महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १९ हजार ९ सय ६१ पुगेको छ।

गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार ४ सय ४१ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा मात्रै विश्वभर ८८ हजार ६ सय ६८ जना नयाँ संक्रमित थपिएका छन्।

एकै दिन अमेरिकामा २२ हजार भन्दा धेरै, ब्राजिलमा १४ हजार भन्दा धेरै, रुसमा झण्डै ९ हजार नयाँ संक्रमित थपिएका छन्।संक्रमण नियन्त्रणमा आएको चीनमा पनि सोमबार ७ जना नयाँ संक्रमित थपिएका वल्डओमिटरले जनाएको छ।