परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छ: काॅंग्रेस प्रवक्ता शर्मा

काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका हुन् ।

अहिलेकै अवस्थामा विद्यालय सञ्चालन गर्न नसकिने भएपछि कोभिड–१९ को परीक्षणलाई व्यापक बनाउँदै लगे विकल्पहरुका आधारमा सञ्चालन गर्न सकिने उनको भनाइ थियो।तत्काल एकलाख बढी शिक्षक विद्यार्थीको पिसिआर परीक्षण गरी सामाजिक दुरी कायम राख्दै विद्यालय सञ्चालन गर्न सकिने उनले बताए ।

विद्यालय सञ्चालन र परीक्षणका लागि पनि उनले विकल्पहरु अगाडि सारेका छन् । व्यक्ति पिच्छे परीक्षण नगरी १०–१५ जनाको समूहका स्वावसँगै मिसाएर परीक्षण गर्ने र नदेखिए ठीकै छ देखिए उक्त समूहको मात्रै छुट्टा–छुट्टै पुनः परीक्षण गर्ने गर्दा धेरैलाई छिटो परीक्षण गर्न सकिने प्रवक्ता शर्माले बताए ।यस्तै, विद्यालय पनि सबै नखुलाएर हप्ताको ३ दिन जोरकक्षाहरु(२,४,६,८ र १० कक्षा) र हप्ताको ३ दिन विजोर कक्षाहरु(१,३,५,७ र ९ कक्षा) सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्न सकिने उनले सुझाब दिए ।

शिक्षण सिकाइलाई पनि पहिलेजस्तो अंकमा आधारित नभएर विद्यार्थीको क्षमताका आधारमा सञ्चालन गर्नुपर्ने उनको सुझाब छ । एसईई परीक्षाको एक दिन अगाडि परीक्षा स्थगित हुनु र लामोसमय घरको उकुसमुकुसमा बस्दा बालबालिकामा पछि मानसिक असर देखिन सक्ने भन्दै लामो समय शिक्षण संस्था बन्द गरेर राख्न नहुने उनले बताए ।विद्यालय सञ्चालन र सिकाइमा विभिन्न विकल्पहरु अपनाएर भएपनि शिक्षण संस्थालाई पूर्णत बन्द हुन दिन नहुने उनले स्पष्ट पारे ।

१० दिनसम्म चलेको तालीममा ३५ जिल्लाका २७० शिक्षकहरुको सहभागिता रहेको शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेलले जानकारी दिए । समापन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, संघका संस्थापक अध्यक्ष देवेन्द्र उपाध्यायलगायतले तालीम प्राप्त शिक्षकहरुलाई सिकेको कुरा कक्षाकोठामा लागु गर्न शुभकामना दिएका थिए ।