एमाले ओखलढुंगाले अन्तरघातीलाई कारवाही गर्ने

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,१०-

नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टी भित्रैको अन्तरघातका कारण निर्वाचनमा अधिकांश स्थानमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै एमालेले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने जनाएको छ । पार्टीका उमेद्वारलाई निर्वाचनमा असहयोग गरेर असफल बनाउने व्यक्ति पहिचान गरेर कारबाहीका लागि सिफारीस गर्न एमालेले तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

सचिवालय सदस्य केदारबाबु बस्नेतको संयोजकत्वमा मेखबहादुर खड्का र तिर्थ सुवेदी सदस्य रहेको समिति गठन गरेको हो । समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।स्थानीय निर्वाचनका क्रममा देखिएका केही समस्याहरुलाई विश्लेषण गरेर छानबिन समितिले काम सुरु गरेको समिति सदस्य मेखबहादुर खड्काले बताउनुभयो ।

पार्टीमा ठुलो योगदान गरेका व्यक्तिहरुले नै अन्तरघात गरेको भन्ने सम्मको रिपोर्टीङ आएकाले कारबाहीका लागि सिफारीस गर्न समस्या भएको उहाँको भनाई छ ।स्थानीय निर्वाचन पछि एमाले ओखलढुंगामो दोस्रो शक्ति हो ।

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा एमालेले नगरपालिकामा प्रमुख,उपप्रमुख दुवै,लिखु गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै, मोलुङ गाउँपालिकामा प्रमुख र चिशंखुगढी गाउँपालिकामा उपप्रमुख जितेको छ ।