दाङका व्यवसायी रणबहादुर घर्तीको आज दाह संस्कार

आन्दोलन फिर्ता लिदै कारबाहीका लागि जाहेरी दिन घर्ती परिवार सहमत

 

नरेश खड्का,

दाङ, साउन १०-

दाङका व्यवसायी रणबहादुर घर्तीको शव बुझ्न र कारबाहीका लागि जाहेरी दिन घर्ती परिवार सहमत भएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वर्गीय घर्तीका छोराछोरीलाई उचित शिक्षा र परिवारलाई रोजगारीको व्यवस्था मिलाई दिन आफूहरु सकारात्मक भएको प्रतिबद्धता जाहेर गरेपछि घर्ती परिवार आन्दोलन फिर्ता लिँदै प्रहरीमा जाहेरी दिन र शव बुझ्न तयार भएको हो ।

सोमबार जिल्ला प्रशासन, नेपाल पत्रकार महासंघ, नागरिक समाज, सम्वाद समूह, हिन्दु जागरण नेपाललगायतका संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा सर्वपक्षिय छलफलमा बोल्दै मेयर चौधरीले हत्या हुनु दुःखद् भएको भन्दै पीडित परिवारलाई राहतको अनुभूति हुने गरी आफूहरुले काम गर्ने बताउनु भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही हुने धारणा राख्नुभएको थियो ।

छलफलमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, सम्वाद समूहका निर्मल नेपाली, निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीलगायतले पीडित परिवारको पक्षमा आ–आफ्नो तर्फबाट भुमिका खेल्ने बताउनुभएको थियो । छलफल कार्यक्रममा मृतकका दाजु गनबहादुर घर्तीले छिटो भन्दा छिटो आफूहरुले राहत पाउने गरी कार्य गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको थियो ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङको जंगलमा घर्तीको शव भेटिएको थियो । करीव डेढ हप्तादेखि घर्तीको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको र मंगलबार दाहासंस्कार गरिने बताइएको छ । अपहरणकारीलाई चिनेका कारण अपराध लुकाउन घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।