थ्री नेसन्स कप चैत ८ गतेदेखि हुने

काठमाडौं,फाल्गुन,२९-नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने भएका हुन् । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जस अन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

फाइनल खेल चैत १७ गते हुने छ । यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुने छ । यस्तै, चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने त्यस्तै, चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुने छ ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ।प्रतियोगितामा एन्फाले साधारण र भिआईपि प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको यु–२३ टोली सहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो ।