लोपाेन्मुख खेल कुस्तीका दाउपेच

विराटनगर,कार्तिक,५-

दशैंको अवसरमा विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे। साेमबार तराई-मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप कुस्ती प्रतियोगिता गरिएको हो। 

तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्याका पहलमान थिए। तर पछिल्लो समय कुस्ती प्रतियोगिताको आयोजना शून्य प्रायः हुँदै गएको छ भने खेलाडी पनि पलायन भइरहेका छन्।यही कुरालाई मध्यनजर गर्दै विराटनगर नगरपालिका ६ ब्रह्मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुँदै आएको छ।

वडा ६ का वडाध्यक्ष विजय कामतको संयोजनमा यसपटक एघारौं संस्करणको प्रतियोगिता भएकाे हाे। हजारौं सर्वसाधारण दर्शकको सहभागितामा गरिएको प्रतियोगितामा नेपाल र भारतका कुस्तीबाजले आफ्नो कला कौशल प्रदर्शन गरे। प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालको सर्लाही, सप्तरी र नवलपरासीका ५ जना पहलमानले खेल प्रदर्शन गरेका थिए। नेपाल-भारतका प्रतिस्पर्धीबीच भएको भीडन्तले दर्शकलाई थप रोमाञ्चित बनाएको थियो। 

कुस्ती मौलिक संस्कार र परम्परासंग जोडिएको खेल हो। यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोमा अग्रजहरूले जोड दिएका छन्। पूर्वमन्त्री एवं नेकपाका नेता शिवकुमार मण्डलले कुस्तीलाई संरक्षण गर्न केन्द्र तथा स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड दिए। 

कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसँग समेत प्रत्यक्ष गाँसिएकाले यसको संरक्षण हुनुपर्ने प्रतियोगितामा सहभागी बाल्मीकि आश्रम नवलपरासीका पहलमान हरिओम यादवको भनाइ छ। साभार थाहा खबरबाट