युक्रेनमा रहेका नेपालीको उद्धार कठिन,१२६ जना दूतावासको सम्पर्कमा

तीन सय नेपाली नागरिक घरभित्रै बन्दी

युक्रेनका नेपालीको उद्धार कठिन, १२६ जना दूतावासको सम्पर्कमाकाठमाडौं,फाल्गुन,१३-रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ जारी संकटले नयाँ मोड लिएको छ। पूर्वी युरोपमा पर्ने युक्रेनमा रुसको आक्रमणपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ। 

युक्रेनसमेत हेर्ने जिम्मा पाएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा रहेका करिब तीन सय नेपाली नागरिक घरभित्रै बन्दी भएका छन्। सर्वसाधारण मानिसको बस्ती रहेका क्षेत्रमा रुसले सैन्य हमला नगरेको बताइएको छ। 

रुसले युक्रेनका सैन्य इलाकालाई लक्षित गरी क्षेप्यास्त्र तथा हवाई आक्रमण गरेकाले मानवीय क्षति कम भएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। समाचारहरुका अनुसार रुसी आक्रमणमा परी अहिलेसम्म ४० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

रुसी सञ्चारमाध्यमका अनुसार हालसम्म रुसले युक्रेनका ७० भन्दा बढी सैन्य अखडा ध्वस्त पारिसकेको छ। युक्रेनमा उडान बन्द भएपछि तत्कालका लागि नेपाली नागरिकको उद्धार सम्भव नदेखिएको दूतावासले बिहीबार एक सूचनामा जनाएको छ।

हवाई र सडक यातायात ठप्प भएका कारण नेपाली नागरिकलाई युक्रेन आसपासका देशमा समेत जान कठिनाइ भइरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार युक्रेनका विभिन्न सहरमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे सूचना संकलन जारी छ। 

दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी अनुसार हालसम्म १२६ जना नेपाली प्रत्यक्ष सम्पर्कमा आएका छन्। टेलिफोन र सामाजिक सञ्जाल भाइबरका माध्यमबाट नेपालीहरु दूतावाससँग सम्पर्कमा आइरहेका छन्।बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्काले बिहीबार साँझसम्म १२६ जना नेपाली दूतावासको सम्पर्कमा आएको बताउनुभयो। 

‘अहिलेसम्म १२६ नेपाली हाम्रो सम्पर्कमा आएका छन्। उनीहरुले आफू सुरक्षित रहेको बताएका छन्,’ राजदूत खड्काले बर्लिनबाट टेलिफोनमा “भन्नुभयो”कति नेपाली युक्रेनमा छन् भन्ने यकिन जानकारी अझै पनि प्राप्त भइनसकेको उहाँले जानकारी दिनुभयो। ‘साढे दुई सयदेखि तीन सय नेपाली त्यहाँ छन् भन्ने अनौपचारिक जानकारी छ। हामी तथ्यांक संकलन गर्दैछौँ,’ उहाँले भन्नुभयो”  

बिहीबार साँझसम्म युक्रेनमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी आफूले पाएको राजदूत खड्काले बताउनुभयो। उहाँका अनुसार रुसले बुधबार मात्रै स्वतन्त्र घोषणा गरेका दोनेस्क र लुहान्स्क क्षेत्रमा नेपाली नागरिक छैनन्। 

‘दोनेस्क र लुहान्सक क्षेत्र नजिकै मारियोपोल भन्ने क्षेत्रमा ६/७ जना नेपाली रहेको भन्ने सूचना आएको छ। उनीहरु पनि सुरक्षित नै छन्,’ राजदूत खड्काले भन्नुभयो” युक्रेनको राजधानी किभमा ५० भन्दा बढी नेपाली रहेको अनुमान गरिएको उहाले बताउनुभयो।युक्रेनमा रहेका केही सीमा पार गरी स्लोभाकिया, हंगेरी, रोमानिया र पोल्यान्ड जाने प्रयास गरिरहेका छन्।

युक्रेनको छिमेकी मुलुक सर्बियाले युक्रेनमा अलपत्र परेका विदेशीलाई आफ्नो मुलुक हुँदै सम्बन्धित मुलुकमा जाने व्यवस्था मिलाउन तयार रहेको सार्वजनिक सूचना निकालेपछि केही नेपाली सर्बिा प्रवेश गर्ने कोसिसमा छन्। 

युक्रेनमा नेपाली विद्यार्थी र नेपाली कामदार छन्। धेरै नेपाली अझै सम्पर्कमा आउन नचाहेको बुझिएको छ। ती नेपाली युक्रेन हुँदै अन्य युरोपेली मुलुक छिर्ने आशामा थिए। तर, अहिले युक्रेनमा संकट उत्पन्न भएपछि उनीहरु थप निराश देखिएका छन्। 

‘लाखौँ खर्च गरेर यहाँ आइयो अहिले फर्केर के गर्नु भन्दै ती नेपाली स्वदेश फर्किनुभन्दा युक्रेनमा देखिएको संकटकै बीच अन्य युरोपेली मुलुकतिर छिर्ने दाउमा देखिन्छन्। यद्यपि, उनीहरु जहाँ रहे पनि उनीहरुको जीवन रक्षाका लागि पहल गर्ने हाम्रो दायित्व हो। त्यसका लागि पहल गरिरहेका छौँ,’ बर्लिनस्थित नेपाली दूतावासका अर्का एक अधिकारीले भन्नुभयो”तर समस्या के परेको छ भने युक्रेनका सरकारी निकायसँग नेपाली दूतावासको प्रत्यक्ष सम्पर्क छैन। 

बर्लिनस्थित नेपाली दूतावासले युक्रेनस्थित प्रवासी नेपालीका संगठन, त्यहाँ लामो समय बसेका नेपाली, केही विद्यार्थी मार्फत् नेपालीको अवस्थाबारे सूचना लिइरहेको छ। नेपालीहरु मारियोपोल, ओडेसा, खार्कोव, लुज्क, बेलिचेर्कोभ लगायत सहरमा छन्। 

संकटमा परेको युक्रेनको सरकारले विदेशी नागरिको सुरक्षाको जिम्मा लिन सकेको छैन। यद्यपि युक्रेनको विदेश मन्त्रालय र अन्य सरकारी निकायले सूचना जारी गरी स्वदेशी र विदेशी नागरिकको जीवनरक्षाका लागि कोसिस भइरहेको बताएका छन्। 

रुसको आक्रमणपछि युक्रेनको राष्ट्रिय सुरक्षा नै संकटमा परेपछि अमेरिका लगायत पश्चिमा मुलुकले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाउने भएका छन्। युक्रेन संकटलाई पश्चिमा मुलुक र रुसबीचको भूराजनीतिक टकरावको हिस्सा मानिएको छ। युक्रेनले अमेरिकी धुरीको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन प्रयास गरेपछि रुस चिढिएको हो। युक्रेनलाई नेटोको सदस्यता लिनबाट रोक्न रुसले सैन्य हमला गरेको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेन संकटबारे छलफल गरिसकेको छ। 

चीन चाहिँ युक्रेन मामिलामा मुखर हुन चाहेको छैन, खासगरी रुससँगको उसको बढ्दो सान्निध्यका कारण। तर, रुसको भर्त्सना गर्न अमेरिकी धुरीका पश्चिमा मुलुक एकमत देखिएका छन्।नेपालखबरबाट