प्रतिनिधिसभाको बैठक आज बस्दै

कांग्रेस र एमालेका नेताहरु सहमति जुटाउन आज पनि छलफलमा

काठमाण्डौं,फागुन,१३-प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्दैछ।दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभए पनि  प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्नु भएको छ । हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  छलफल भएको थियो ।

छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज पनि थप छलफल हुने उनीहरुले बताएका छन् । कांग्रेस र एमालेबीच एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन  फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।