उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

महन्थ ठाकुर पक्ष दलविहीन

फाईल तस्विर !!

काठमाडौं,साउन,११-निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे ।

उपेन्द्रले जसपामा आधिकारिकता पाएसँगै आयोगले महन्थ पक्षलाई भने नयाँ दल दर्ताका लागि आउन भनेको छ । नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्‍याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।

उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता पाऊँ भन्दै आयोगमा निवेदन दिएका थिए । अब दलको नाम, चिह्न, लेटरप्याड सबै उपेन्द्रको भएको छ ।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै महन्थ ठाकुर समूह दलविहीन भएको छ । इजलासले सांसद्हरूकाे सन्दर्भमा भने केही पनि बोलेको छैन ।