गठबन्धनको सरकारमा मन्त्रीमण्डल विस्तार गर्नै सकस

अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन

फाईल तस्विरमा : प्रधानमन्त्रीको कार्यालय !!

काठमाडौं,साउन,१०-गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हप्तासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित बन्नु परेको छ।आजै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् । तर, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने अत्तोपत्तो छैन ।

करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर छ । पाँच दलीय गठबन्धनको जगमा निर्माण भएको सरकारमा दलहरुलाई आफ्नो भागमा पर्ने मन्त्रालयको मोलतोल गर्न बाँकी नै छ । यसै कारण नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यवस्थापनमा टाउको दुखेको छ ।

देउवाको नेतृत्वमा असार २९ गते ५ सदस्यीय मन्त्रिपरिषद् बनेको हो । आइतबार स्वास्थ्य राज्यमन्त्री थपिएपछि यो संख्या ६ पुगेको छ । यो सरकारले पाँच वर्षमा बाँकी रहेको समय सत्ता सञ्चालन गर्न पाउने गरि विश्वासको मत संसदबाट पाइसकेको अवस्था छ । आखिर गठबन्धनको सरकार विस्तारमा बाधक को हो त ? मन्त्रालय नमिलेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिला भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउनुहुन्छ ।

संविधानतः २५ जनाभन्दा बढी मन्त्री बनाउन मिल्दैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह मात्र सरकारमा गए ८ वटाको दरले मन्त्रालय भागमा पर्छ । एमाले नेता माधव नेपाल समूह र जसपाको महन्थ खेमा पनि सरकारमा गए फेरि भाग घट्छ ।

जसपा कुनै आस्था वा विचारका लागि नभएर पदका लागि सरकारलाई साथ दिएको राजनीतिक विश्लेषक डा. चापागाईले बतानुहुन्छ ।

बाहिरबाट सत्ता समीकरण नियालिरहेका राजनीतिक विश्लेषकहरु भने समस्या जसपा र माधव समूहमा मात्र होइन, गुटैगुटले भरिएको कांग्रेसभित्र गर्नुपर्ने भागवण्डा र शक्तिक्षयिकरणहुँदै गएको माओवादी केन्द्रमा पनि देख्छन् ।

पाएको सत्ता व्यवस्थापन गर्न नसकेर गठबन्धन सरकार आलोचित भयो भने पूर्व प्रधानमन्त्री केपी ओलीमाथि गरिएका प्रहार आत्मघाती भएर आफैंतिर फर्कने निश्चित छ।यो खबर ईमेजखबरमा रोसन आचार्यले लेख्नु भएको छ ।