बाटोमा बुरुक्क उफ्रिदैमा भारत संगको सीमा समस्याको समाधान हुदैन: प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख,३०-प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन भन्दै यसका लागि भारतसँग वार्ता गरिने बताएको एक मन्त्रीले बताए ।

फाईल तस्विर : प्रधानमन्त्री केपि शर्मा ओली

बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने, ‘भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने होइन । यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।’

यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न मन्त्रीहरुलाई उनले निर्देशन पनि दिए । यसअघि भूमिसुधार मन्त्री पद्मा अर्यालले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेक्रममा लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै नभएको भनेकामा संसदीय समितिमा समेत उनको आलोचना भएको थियो ।

मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएकोसमेत बताएका छन् । यद्यपि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने संसदमै भारतले बनाएको सडकबारे सरकारलाई जानकारी रहेको बताएका थिए ।

मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गर्दै यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि नेपालले पटकपटक कुरा उठाउँदा पनि भारतले वास्ता नगरेको र अहिले सडक नै उद्घाटन गर्नुले उसको नियत ठीक नभएको प्रष्ट भएको पनि बताएका हुन् । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा सरकारको प्रष्ट अडान रहेको पनि उनले बताएका थिए ।

भारतले धार्चुलाबाट तीनको तिब्बतस्थित मानसरोवर जानका लागि नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक बनाएपछि यसको सर्वत्र विरोध भएको छ । सरकारमाथि तीब्र दबाब बढेको छ भने सोमबार मात्र परराष्ट्र मन्त्रालयले भारतीय राजदुतलाई बोलाएर कूटनीतिक नोट दिएको थियो ।

भारतले भने आफ्नै भूमिमा सडक बनाएको जिकिर गर्दै लकडाउनपछि समस्यामाथि छलफल गर्न सकिने जवाफ फार्काएको छ । नेपालले भारतको उक्त भनाइको सट्टा तत्कालै वार्ताका लागि आग्रह गरेको छ ।