रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : सांसद झा

काठमाडौं,असार,२१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताउनुभयो।

उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पार्नुभयो।उहाँले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गर्नुभयो।

सांसद झाले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।उहाँले आफूहरुको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरु संसदमा रहेको स्पष्ट पार्नुभयो।