काम चलाउ सरकारले यस्ता अध्यादेश ल्याउनु हुँदैन : अर्जुननरसिंह केसी

काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याउन नहुने बताउनुभएको छ ।

सोमबार उहाँले जनताको जनादेश लिएर नयाँ संसद निर्वाचित हुन नपाउँदै सरकारले ल्याएको अध्यादेशबारे आफूले बुझ्न नसकेको बताउनुभएको हो।उहाँले अध्यादेसले किन र कति जरुरी थियो भन्ने कुरा नै सरकारले नबुझेको बताउनुभयो ।

उहाँले राष्ट्रिय संकटको स्थिति र राष्ट्रमाथि नै चुनौति आउने देशको सार्वभौमता सर्वोच्चतामाथि चुनौति हो भने जुनबेला पनि सरकारले अध्यादेश सक्ने भएपनि अहिले आजीवन कारावासको सजाय भोगिरहेका व्यक्तिहरु छुटाउनका लागि अध्यादेश ल्याउनुपर्ने आवश्यक्ता आफूले नदेखेको बताउनुभयो।

उहाँले सरकारको अध्यादेशप्रति आफू गम्भीर रहेको र सरकारले किन हतार गरेको हो भन्ने विषयमा सोध्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

मंसिर २५ गते आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको छ।

सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ अध्यादेश ल्याएको स्पष्टीकरण दिएको छ ।