स्थानीय तहको निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था: गृहमन्त्री

काठमाडौं, वैशाख ७-
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्धरुपमा परिचालन गरिएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो ।

जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको, प्रष्टताका साथ योजना बनाइएको र शान्ति–सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाइएको र राजनीतिक दलले निर्वाचनको प्रचार–प्रसारसमेत सुरु गरिसकेको उहाँले जानकारी  दिनुभयो ।

निर्वाचनलाई भयरहित बनाउन सरकारको तर्फबाट कुनैपनि कसर बाँकी नराखिएको र सरकार पूर्ण क्षमताका साथ आवश्यक वातावरण बनाउन लागिपरेको उहाँले स्पस्ट पार्नुभयो ।निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछि पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्ने योजना बनाइएको र लागू गरिएको उहाँको भनाइ थियो ।

सरकारले सामान्य, संवेदनशील र अतिसंवेदशील क्षेत्र पहिचान गरी निर्वाचनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।गृहमन्त्री निधिले सांसद सत्यनारायण मण्डलको घरमा भएको भनिएको आक्रमण र दुर्व्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सदनलाई जानकारी दिनुभयो।

मुलुकका विभिन्न स्थानमा भएको आगोलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि उहाँले बताउनुभयो ।