एनआरएनए को नयाँ कार्यसमीतीमा अध्यक्ष कुमार पन्तको प्यानल विजयी

महेशकुमार श्रेष्ठले ल्याए सर्वाधिक मत

काठमाडौं,कार्तिक,१-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि  नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल आचार्य १ हजार ७० मत प्राप्त गरे । शुक्रबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । 

३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको थियो ।सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा उत्रीएका थिए ।

प्रतिस्पर्धामा रहेका मध्ये कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले सर्वाधिक मत ल्याउनु भएको छ ।उहाँले १६ सय ५३ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पधी सुदन थापाले ४ सय ४७ मत मात्र ल्याउनु भएको थियो ।

यस्तै : महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ ।खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।