६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत

रनिल विक्रमसिङ्घश्रीलङ्का,साउन,५-“छ” पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत हुनु भएको छ ।

बुधवार संसद्‌मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्दै विक्रमसिङ्घ निर्वाचीत हुनु भएको हो ।

गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्।

मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको भन्दै आफ्ना राजनीतिक प्रतिस्पर्धीहरूलाई समेत आफ्नो सरकारसँग देशको हितका लागि काम गर्न आग्रह गर्नुभयो।

उहाँलाई आर्थिक क्षेत्रको अनुभवका कारण भन्दै श्रीलङ्काको सत्तारूढ दल पोदुजन पेरुमुन पार्टीका बहुमत सांसदले समेत विक्रमसिङ्घलाई सघाएका थिए।

राजपक्षहरूले नेतृत्व गरेको पोदुजन पेरुमुन पार्टी गत निर्वाचनमा विजयी भएको थियो।६ पटक प्रधानमन्त्री भइसकेका उहाँ यसअघि दुईपटक राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुनु भएको थियो ।

विक्रमसिङ्घले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग देश धराशायी हुनबाट जोगाउन आर्थिक सहायताका लागि संवाद पुन: सुरु गर्न चाहानु भएको छ ।यस्तो संवादमा उहाँ यसअघि देखी नै सहभागी हुदै आउनु भएको छ । 

गत साता तत्कालीन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए ।

हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवास तथा अन्य सरकारी कार्यालयहरूमा बलजफती छिरेर राजपक्षको राजीनामा माग गरेपछि उहाँ माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नु भएको थियो। 

प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए। 

प्रदर्शनकारीहरूले उहाँको निजी निवासमा आगजनी गर्दै उहाँको सरकारी निवास कब्जा गरेका थिए। यद्यपि विक्रमसिङ्घले त्यस्ता मागलाई बेवास्ता गर्दै आउनु भएको थियो।

राजपक्षले देश छाडेपछि उहाँले स्वत: कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आउनु भएको थियो।उहाँले अब सन् २०२४ को नोभेम्बरसम्म बाँकी राष्ट्रपतीय कार्यकाल सम्हाल्नुहुनेछ ।

विक्रमसिङ्घसामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्‍याउन र महिनौँको विरोध प्रदर्शनपछि बिग्रिएको सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्ने महत्वपुर्ण जिम्मेवारी आएको छ ।