सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, देउवा र कोइरालाबीच भिडन्त हुने

देउवालाई पुगेन ८२ मत

काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नु भयो । यस्तै, डा. शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरूङले २० मत प्राप्त गर्नु भएको छ । अन्तिम मत परिणामको औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसाल्नु भएको थियो ।अब पहिलो र दोस्रो बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।