कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

 

महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

आजको निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्ने छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।