मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती : महन्थ ठाकुर

महोत्तरी, मंसिर,२६-

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो जित मधेसी जनता र मधेस मुद्दाको भएको बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएको प्रमाणपत्र बुझ्दै सन्चारकर्मीसँग उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफूहरुको मुख्य मुद्दा नै संविधान संशोधन र मधेसको अधिकार रहेको बताउँदै सोही मुद्दालाई लिएर आफूहरु जनतामाझ गएको र जनताले आफूहरुलाई सोही ‘म्यान्डेड’ दिएर जिताएको जिकिर गर्नुभयो ।

उहाँले आफूहरु अहिलेपनि संघर्षमा रहेको भन्दै चुनावलाई आफूहरुले आन्दोलनकै एउटा स्वरुपकोरुपमा लिएको बताउनुभयो ।सबैको मधेसी जनताको भावना र चाहनालाई कदर गदै आफूहरु अगाडि बढ्ने उहाँको भनाइ थियो ।

सन्चारकर्मीहरुले सोधको एक प्रश्नमा संयोजक ठाकुरले ‘बेला आएपछि मुख्यमन्त्री को बन्छ ? थाहा पाइहाल्नुहुन्छ’ उहाँले भन्नुभयो राजपाले जारी गरेको घोषणापत्रअनुसार नै आफूहरु अगाडि बढ्ने भन्दै उहाँले मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती नै उल्लेख गर्नुभयो ।

त्यसैगरी, राजपा अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले विजयी भएको प्रमाणपत्र बुझ्दै आफ्नो जित अधिकारको लडाइँ लडिरेहका सम्पूर्ण मधेस र मधेसीको भएको प्रतिक्रिया दिनुभयो ।

भण्डारी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रांगणमा सोमबार बिहान ११ बजेतिर पहिला भण्डारी आफ्ना क्षेत्रका प्रदेशसभाका उम्मेदवार जयनुल राइनसहित पुग्नु भएको थियो ।

त्यसको एक घन्टापछिमात्रै संयोजक ठाकुर क्षेत्र नम्बर–३ का विजयी उम्मेदवारसहित प्रमाणपत्रका लागि पुगेका थिए । ईमेजखबरबाट साभार