काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।
यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।
गृह मन्त्रालयका अनुसार देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारबाट लागू हुने गरी सो निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।
सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएकाे पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।